काठमाडौं, वैशाख १५ - बैतडी (क्षेत्र ६) ले वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ। टोलीले फाइनलमा बिहीबार वीरगन्ज (क्षेत्र २) लाई ४ विकेटले पराजित गर्यो। बैतडीको यो लगातार दोस्रो उपाधि हो। अघिल्लो महिना टोलीले यु-१६ राष्ट्रिय प्रतियोगिता जितेको थियो, जुन बैतडीको पुरुषतर्फ पहिलो उपाधि थियो।
प्रमुख ब्याट्सम्यान हासिम अन्सारीलाई १५ रनमै पवेलियन फर्काएपछि वीरगन्ज ३७.२ ओभरमा १ सय रनमै सीमित भयो। कप्तान सुरेन्द्र चन्दले ३८ रन बनाएपछि बैतडीले ३१.२ ओभरमा १ सय २ रन बनाएर खेल आफ्नो पक्षमा पार्यो। बैतडीले उपाधिसँगै नगद २५ हजार हात पार्यो।
सुरेन्द्रले अलराउन्ड खेल प्रदर्शन गर्दै आफ्नो टोलीले उपाधि जितेको बताए। 'हामी फिल्डिङमा चुस्त थियौं र हामीले उनीहरूलाई आफ्नो बलिङमा सस्तोमा समेट्यौं,' उनले भने, 'लक्ष्य पछ्याउँदा हाम्रो ५ विकेट चाँडो झर्यो। तर अन्तमा हामीले सजिलो विजय पायौं, किनभने हाम्रो ब्याटिङ लाइनअप मजबुत थियो।'
त्रिवि क्रिकेट मैदानमा हासिम १५ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै आउट भए। उनलाई विक्रम सोबले आउट गरे। सुरज कुर्मीले ३० रन बनाए। उनले ६७ बल खेली ४ चौका प्रहार गरे। अकिब अन्सारीले १८ रन जोडे। प्रेम तामाङले २ ओभरमा १ मेडन राख्दै २ रन खर्चेर ३ विकेट लिए। म्यान अफ द फाइनल हुँदै उनले ५ हजार नगद पाए। सन्तोष भट्ट, यज्ञमान कुमाल र विनोद लामाले २-२ विकेट लिए।
४४ बल खेली ७ चौका प्रहार गरेका सुरेन्द्रले प्रेमसँग पहिलो विकेटमा ५९ रन जोडे। प्रेमले ५७ बल खेली १ चौकाको मद्धतले १८ रन बनाए। त्यसपछि सन्तोष ८, चन्द्र रावल शुन्य, विक्रम र विनोद २-२ रनमा आउट भए पनि सौरभ चन्दको अविजित २२ रनमा बैतडीले उमेर समूहमा अर्को प्रतियोगिता जित्यो। उनले ४३ बल खेल्दै ३ चौका प्रहार गरे। वीरगन्जका हासिम र अकिबले ३-३ विकेट लिए।
'साविक विजेता भैरहवालाई समूह चरणमा ८३ रनमै समेटेकाले सस्तोमा रोक्न सकिन्छ भन्ने विश्वास हामीलाई थियो,' बैतडीका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले भने, 'हामीले वीरगन्जको विकेट सुरुआतमै लियौं र खेल सजिलै जित्यौं। हासिमको विकेट खेलको टर्निङ प्वाइन्ट थियो।'
लगातार तेस्रोपटक फाइनलमा पुगेको वीरगन्ज लगातार दोस्रोपटक फाइनलमा पराजित भयो। टोलीका प्रशिक्षक प्रकाश शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णयको आलोचना गरे। उनले भने, 'विकेट फ्रेस थियो। हामीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यौं र यो निर्णय गलत साबित भयो। अर्कोतर्फ हाम्रो शीर्ष विकेट असफल भयो।'
प्रतियोगिताको ४ खेलमा १ सय ४९ बलमा १ सय ७६ रन बनाएका वीरगन्जका हासिम उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिजमा चुनिए। उनले ६ विकेट पनि लिए। हासिमले १५ हजार पाए। बैतडीका विनोद लामा उत्कृष्ट बलरमा चुनिए। उनले समूह चरणको खेलमा १२ विकेट लिएका थिए।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, नेपाल क्रिकेट संघका उपाध्यक्षद्वय तारिणीविक्रम शाह र केशव घिमिरे तथा चौधरी ग्रुपका मार्केटिङ म्यानेजर लालबाबु प्रसाद लगायतले पुरस्कृत गरे।