दुवई, फागुन ६ (एजेन्सी)- पाकिस्तानी कप्तान मिसबाह उल हकले आफ्ना अन्तर्राष्ट्रिय टिम सहयात्री डानिस कानेरिया इङलिस काउन्टीका एक खेलाडी जेल पर्नेगरी भएको स्पट फिक्सिङ काण्डमा मुछिएको विषयले आफुलाई निराश पारेको बताएका छन्।
चार महिनाको जेल सजाय सुनाईएका इसेक्सका पुर्व बलर मार्भान वेस्टफिल्डका वकिलले स्पट फिक्सिङमा कानेरियाको संलग्नता दावी गर्दै उनले मिलोमतोका लागि लोभलाग्दो प्रस्ताव गरेको बताए। २०१० मा मिलोमतोको अभियोगमा कानेरिया पनि पक्राउ परेका थिए, तर पछि उनलाई सफाई दिइएको थियो।
'पाकिस्तानी क्रिकेटका लागि यो घटना निकै निराशाजनक हो,' इङल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलको पुर्वसन्ध्यामा मिसबाहले भने,'यस्ता घटना क्रिकेटमा कहिल्यै नहोस भन्ने म कामना गर्दछु।' इङलिस क्रिकेटको सर्वोच्च निकायले अन्यका लागि पनि शिक्षा होस भनेर वेस्टफिल्डमाथि कार्वाही गरिएको जनाएको छ। वेस्टफिल्डले २००९ को सेप्टेम्बरमा धुरामविरुद्धको खेलमा विपक्षीलाई १२ रन बनाउन सहज हुनेगरी बल फ्याक्न ६ हजार पाउन्ड लिएको स्विकारेका छन्।
इङल्यान्ड भ्रमण दौरान २०१० मा स्पट फिक्सिङमा दोषी सावित हुदै पाकिस्तानका सल्मान बट, मोहमद आसिफ र मोहम्मद आमिर जेल चलान भएको तीन दिनपछि वेस्टफिल्डको घटना सार्वजनिक भएको थियो।