३ जेठ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप पाएको छ ।
प्रमुख दलहरुबीच भएको ५ बुँदे सहमति अनुसार नेकपा एमालेसहितका दलहरु सरकारमा सहभागी भएपछि भट्टराई सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिएको हो । संविधानसभा निर्वाचनपछि यो नै पहिलो राष्ट्रिय सहमति सरकार हो । यसअघि बनेका ४ बटा सरकार बहुमतीय थिए । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री भएका भट्टराई ५ बुँदे सहमति अनुसार प्रधानमन्त्री भएको करिव ८ महिनापछि सरकारलाई राष्ट्रिय स्वरुप दिन सफल हुनु भएको हो ।
प्रधानमन्त्री भट्टराईले बुधबार एमाले महासचिव इश्वर पोखरेललाई उपप्रधान एवं उर्जामन्त्रीमा नियुक्त गर्नु भएको छ । यससँगै भट्टराई सरकारमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । माओवादीका नारायणकाजी श्रेष्ठ प्रकाश, काग्रेसका कृष्णप्रसाद सिटौला र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार उपप्रधानमन्त्री हुनुहुन्छ ।
प्रधानमन्त्री भट्टराईले एमालेबाटै राधा ज्ञवाली, संघीय सद्भावनाका अनिलकुमार झा, राप्रपाका पर्शुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेव जोशी, नेपाल परिवार दलका एकनाथ ढकाल र नेवा पार्टीका केशवमान शाक्यलाई मन्त्रीमा नियुक्त गर्नु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले बुधबार नै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री समक्ष सपथ लिनु भएको छ ।
यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । कांग्रेस, माओवादी र मधेसी मोर्चाबाट यसअघि नै सरकारमा सहभागी भइसकेका छन् ।