काठमाडौं, जेठ ३ - नेपाल भलिबल संघले आर्थिक वर्ष २०६९/७० का लागि राष्ट्रिय खेलकुद परिषदसँग २ करोड १५ लाख रुपैयाँको बजेट माग गरेको छ । वार्षिक कार्यक्रम सार्वजनिक गर्न काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले भौतिक पूर्वाधार निर्माण तथा प्रतियोगिताका लागि आवश्यक बजेट माग गरेको हो । संघले पूर्वाधार निर्माणलाई दीर्घकालीन तथा प्रतियोगितालाई अल्पकालीन कार्यक्रममा समेटेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
संघले यो वर्ष दोश्रो राष्ट्रिय महिला बिच भलिबल जेठ २७ गतेदेखि २९ गतेसम्म, भदौ तेश्रो हप्ता एनभीए कप महिला तथा पुरुष भलिबल, असोज पहिलो हप्ता तेश्रो राष्ट्रिय पुरुष बिच भलिबल, असोज २० गते पाँचै विकास क्षेत्रमा भलिबल महोत्सव, मंसिर पहिलो हप्ता २७ औं पुरुष तथा १७ औं महिला राष्ट्रिय भलिबल, माघ पहिलो हप्ता राष्ट्रिय लिग तथा फागुन पहिलो हप्ता अन्तरकलेज राष्ट्रव्यापी खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी पनि दिएको छ । त्यस्तै वर्ष खेलाडी घोषणा तथा सम्मान कार्यक्रम पनि संघको कार्यक्रममा समावेश छ । संघका अध्यक्ष दानबहादुर तामाङले संघले अन्तर्राष्ट्रियस्तरको बिच कोर्ट निर्माणको तयारी गरी रहेको बताउदै दाता खोजी ५–७ वर्षमा कभर्डहल बनाउने योजना रहेको जानकारी दिए ।