काठमाडौं, जेठ ४ - संयुक्त संघर्घ समितिले गरेको अनिश्चितकालीन आमहड्तालको कारण उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा ढुङ्गा प्रहार गर्ने तथा अवरोध गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको सामाखुसीमा आज ९:३० बजे बन्दकर्ता नुवाकोट जिल्ला मकवानपुर-५ बस्ने ३१ वर्षीय महेन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरेकोले प्रहरीले सामान्य बल प्रयोग गरी तितर वितर बनाएको थियो। सो क्रममा अस्थायी प्रहरी प्रभाग गोगंबुमा कार्यरत प्रहरी जवान राजकुमार भट्टराईको नाकमा चोट लागि घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगेकोमा उपचारपछि डिस्चार्ज भएका छन्। प्रहरीले पुतलीसडकबाट ३ जना, माछापोखरीबाट २ जना, सामाखुशीबाट १ जना, कोटेश्वरबाट १ जना, चुच्चेपाटीबाट ३ जना र गोगंबुबाट १ जना गरी जम्मा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बन्दकर्ताहरुले बाफलमा आज दिउसो सबा २ बजे ना.४ ख ४३५५ नम्बरको बसको अगाडिको शिशा फुटाई फरार भएका छन्।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।