काठमाडौं, जेठ १७ - एसिसी यु-१९ एसिया कपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश जस्ता टेस्ट खेल्ने राष्ट्रहरु समावेश एसिया कप एसियाली क्रिकेट परिषद (एसिसी) ले पहिलो पटक आयोजना गर्न लागेको हो।
जुन २३ देखि जुलाई १ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाल र भारत समावेश समूह 'ए' पाकिस्तान र मलेसिया छन्। समूह 'बी' श्रीलंका, बंगलादेश, अफगानिस्तान र कतार छन्। जुन २३ मा पहिलो खेल खेलेपछि नेपालले २५ मा मलेसियासँग र २६ मा पाकिस्तानसँग खेल्ने छ।
नेपालले भारतसँग १० पछि पहिलो पटक खेल्न लागेको हो। सन् २००३ मा भएको काठमाडौं क्लासमा भारतले शक्ति गौचनको कप्तानीमा रहेको नेपाली यु-१९ टोलीलाई तीनै खेलमा पराजित गरेको थियो। सन् २००० मा श्रीलंकामा भएको आइसिसी यु-१९ विश्वकपमा भारतले नेपाललाई सुपर लिगमा ८ विकेटले पराजित गरेको थियो। युवराज सिंह र मोहम्मद कैफ जस्ता खेलाडी सम्मिलित भारतले सो विश्वकप नै जितेको थियो।