काठमाडौं , जेष्ठ १७ - तपाईको छोराछोरीले स्कुलमा गर्ने गतिविधिको जानकारी एसएमएस मार्फत पाउन चाहनुहुन्छ । एक नेपाली सफ्टवेयर इन्जिनियरले यस्तो जानकारी दिने सफ्टवेयर विकास गरेका छन् ।
इन्जिनियर राजेश एम तिवारीले एसएमएस म्यानेजमेन्ट सिस्टम नामको सफ्टवेयर भर्खरै सार्वजनिक गरेका हुन् । यो सफ्टवेयर विद्यालय वा कलेजले कम्प्युटरमा इन्स्टल गरेपछि अभिभावकले विद्यालयमा आफ्ना छोराछोरीले गर्ने गतिविधि एसएमएस मार्फत थाहा पाउने छन् । यो सफ्टवेयरबाट विद्यालयले आफ्ना विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीसँग सञ्चार आदानप्रदान गर्न सक्ने इन्जिनियर तिवारीले बताए । 'यसले विद्यार्थीलाई कोर्सवर्कको समय सीमा, अतिरिक्त क्रियाकलाप, परीक्षाको तालिका, नतिजा, तिर्न बाँकी शुल्क लगायतबारे स्वचालित रूपमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउँछ,' उनले भने, 'विद्यार्थी विद्यालयमा उपस्थित नभए तुरुन्त अभिभावकलाई एसएमएस गर्छ ।'
सफ्टवेयर चलाउन इन्टरनेट कनेक्सन आवश्यक नपर्ने भएकाले गाउँका विद्यालयहरूलाई यो अझ उपयोगी रहेको तिवारीले बताए । यसबाट एसएमएस गर्दा मोबाइल सेवा कम्पनीले तोकेको शुल्क मात्र लाग्ने भएकाले विद्यालय वा कलेजलाई अतिरिक्त भार समेत पर्दैन । सफ्टवेयरलाई उपयोगमा ल्याउन कम्प्युटर, सिम र मोडेम भए पुग्छ ।
सफ्टवेयर इन्स्टल गरेपछि हरेक कक्षा, सेक्सन, तहका विद्यार्थीहरूको समूह बनाउन सकिन्छ । समूह अनुसार वा सबैलाई एकै पटक एसएमएस पठाउन सकिने व्यवस्था सफ्टवेयरमा छ । यसमा हरेक विद्यार्थीको विवरण भरेर राख्न सकिन्छ । कसलाई एसएमएस पठाइयो, उसकहाँ पुग्यो/पुगेन लगायत सबै जानकारी सफ्टवेयरले प्रेषकलाई दिन्छ ।
तिवारीले एसएलसी दिनेहरूलाई उपयोगी वेबसाइट समेत बनाएका छन् । एसएलसी क्वेस्चन्स डट वेब डट कममा उनले एसएलसीका पुराना सबै विषयका प्रश्नपत्र स्क्यान गरेर राखेका छन् । त्यसमा उनले तिनका उत्तर समेत राखेका छन् । यसलाई प्रयोग गर्न विद्यार्थीले आफूलाई रजिस्टर गर्नुपर्छ । तीन हजारभन्दा बढी विद्यार्थीले आफूलाई रजिस्टर गरेर वेबसाइडका सामग्री उपयोग गरिरहेको उनले बताए ।