काठमाडौं, जेठ २२ – सरकारमा सहभागी तथा समर्थन गर्ने विभिन्न १९ दलले विपक्षी दलहरुले गर्ने प्रदर्शनको प्रतिवाद गर्ने निर्णय गरेका छन् । यसको तयारीका लागि मंगलबार नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्ने निर्णय भएको तमलोपा नेपालका नेता दानबहादुर चौधरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी र समर्थक १९ दल सहभागी थिए । काँग्रेस र एमाले लगायतका दलले २६ गते गर्ने बिरोध कार्यक्रमको प्रतिवादमा आउँदो २८ गते जनसभा गर्ने निर्णय भएको चौधरीले बताउनु भयो । काँग्रेस र एमालेले पहिचान सहितको संघियता नमानेका कारण संविधानसभा विघटन भएको जानकारी दिन जनसभा गर्ने निर्णय भएको उहाँको भनाई छ ।
बैठकमा संविधानसभाको चुनाव घोषणा गरेपनि पाँचबुँदे सहमतिको जगमा आधारमा सहमति खोज्ने विषयमा पनि कुराकानी भएको छ । बैठकमा काँग्रेस र एमालेको प्रतिवाद गर्न सडकमै जान नपर्ने धारणा आफूले राखेको नेपाल परिवार दलका नेता एवं गरिबी निवारण मन्त्री एकनाथ ढकालले बताउनुभयो ।
यसैबीच २६ गते काठमाण्डूमा प्रदर्शन गर्ने निर्णय गरेका विपक्षी दलहरुले त्यसको तयारीका विषयमा सोमबार (आज) नै छलफल गर्ने भएका छन् ।