Jun 04, 2012
दुई भाइ मिलेर पाँच छोराछोरी र श्रीमतीको हत्या गरेको खुलासा
बैतडी, जेठ २२ - बझाङ्गमा दुई सहोदर दाजुभाइले मिलेर आफ्नै परिवारको ७ जनाको हत्या गरेको प्रहरीले दावी गरेको छ । यसअघि दाजुभाइबीच घरायसी विवाद चर्केर काटमार हुँदा सात जनाको मृत्यु भएको भनिएको थियो । बझाङका प्रहरी नायव उपरीक्षक सूर्य केसीले बझाङ्गको दुर्गम गाविस स्याँडी–९ स्थित दलित बस्तीमा दुई भाइले शनिबार बेलुकी आफ्नै परिवारका सात जनाको हत्या गरेको दावी गर्नुभयो ।
एकै घरमा बस्दै आएका दुई भाइले आफ्नै छोराछोरी र श्रीमतीलाई घरभित्र थुनेर हत्या गरेका केसीले बताउनुभयो । ‘अनुसन्धानका क्रममा दुई भाइ मिलेर हत्या गरेको देखिएको छ’, केसीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै भन्नुभयो ‘सात जनाको हत्या गरेपछि उनीहरुको मानसिक अवस्था पनि ठीक छैन ।’
प्रहरीका अनुसार दुई दाजुभाइ गगन विक र वीरजित विकले घरभित्रै थुनेर आफ्ना छोराछोरी र श्रीमतीको हत्या गरेका थिए । परिवारका सात सदस्यको हत्या भएपनि दुबैको शरीरमा भने कुनै चोटपटक नभएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा दुई भाइको संलग्नता र मिलेमतो रहेको बताए पनि कारण भने खुलाएको छैन ।
कामको सिलसिलामा भारतमा बस्दै आएका वीरजित बिरामी भएपछि केही दिनअघि मात्रै घर आएका र शुक्रबार बेलुकी वीरजितलाई देवता लागेको भन्दै स्थानीय धामी झाँक्री लगाएको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाइ छ ।
गगन र वीरजित दुवैजना अहिले प्रहरी नियन्त्रणमा छन् भने मृतकहरुको शवको जिल्ला अस्पताल बझाङमा आइतबार राति पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
शनिबार भएको घटनामा वीरजित विकका परिवारका पाँचजना र गगन विकका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वीरजित विककी ३५ वर्षीया श्रीमती झाँकीदेवी विक, ८ वर्षीय छोरा राजेन्द्र विक, ३ वर्षीय छोरा करन विक, ४ वर्षीय छोरा केशव विक र २ वर्षीय छोरी लक्ष्मी विक रहेका छन् ।
घटनामै गगन विकका ३ वर्षीय छोरा पवन विक र २ वर्षीय छोरी पवित्रा विकको समेत मृत्यु भएको छ ।
हत्या गर्न घरेलु हतियार चक्कु, बन्चरो, खुँडा प्रयोग गरिएको देखिएको छ । झाँकीदेवी नौ महिनाकी गर्भवतीसमेत थिइन् । घटनामा पाँच वर्षमुनिका पाँच नाबालकको हत्या भएको थियो । वीरजितका आठ छोराछोरी छन् भने गगनका सात छोराछोरी छन् । उनीहरुले ६ नाबालक छोराछोरीसहित सातजनाको हत्या गरेपछि गोठमा बाँधेर राखेको एउटा भैंसी र बाख्रासमेत मारेको आफन्तले जनाएका छन् । घटनास्थल सदरमुकाम चैनपुरबाट करिब एकदिनको पैदल दूरीमा बैतडीको पूर्वी सिमानासँग जोडिएको छ ।
- रासस
यसअघि जग्गा विवादमा झगडा हुँदा ७ जनाको हत्या भएको भनिएको थियो । यस बारेमा थपसमाचार पढ्न तलका लिंक क्लिक गर्नुहोला ।
जग्गा बिवादमा ७ जनाको ज्यान गयो जग्गा बिबादमा सातजनाको हत्या भएपछि गाउँमा त्रास