काठमाडौं, जेष्ठ २७ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले बहालवाल वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेका छन् ।
हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रसहितको ०४७ सालको संविधान फर्काउन माग गर्दै राप्रपा नेपालले शनिबार राजधानीको खुलामञ्चमा गरेको आमसभामा थापाले चुनावी सरकार माग गरेका हुन् । 'वर्तमान सरकारलाई कायम राखेर निष्पक्ष चुनाव हुनेछैन,' उनले भने, 'बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा चुनावी सरकार घोषणा गर्नुपर्छ ।'
थापाले विभिन्न डर, धम्कीमा पनि आफूहरु संविधानसभाको चुनावमा गएको स्मरण गर्दै अब हुने चुनावमा आफ्नो दल निर्णायक शक्तिकोरुपमा स्थापित हुने दाबी गरे । 'जनता मालिक हुन्, हामी चुनावमा जान डराउँदैनौं,' उनले भने, 'चुनावमा निर्णायक शक्ति भएपछि हाम्रो एजेन्डालाई स्थापित गराएरै छाड्नेछौं ।'
थापाले राजसंस्था पुनर्स्थापना नजिक पुगेकाले धैर्य गर्न आग्रह गरे । 'हामी राजालाई भन्न चाहन्छौं केही दिनलाई धैर्य गर्नुहोस्,' उनले भने, 'जनताले तपाईंलाई नागार्जुनबाट नारायणहिटी ल्याउनेछन् ।' चुनाव हुन दिइएन भने जनताले राजालाई सिधै नारायणहिटी लैजाने बताउँदै उनले सडकबाटै ०४७ सालको संविधान ब्युँताउने उदघोष गरे ।
नयाँ शक्ति उदायो
थापाले चार दलको सिन्डिकेट अन्त्य भएको दाबी गर्दै आफ्नो दल नयाँ शक्तिकोरुपमा उदाएको घोषणा गरे । उनले अब हुने सवै निर्णयमा आफ्नो दलको सहमति पनि अनिवार्य रहेको बताए ।
'चार वर्ष अगाडिको शक्ति सन्तुलनले अब को ठूलो को सानो भन्ने ठहर्दैन,' उनले भने, 'सडकमा देखिएको ऊर्जाका आधारमा निर्धारण हुनेछ, अब चार दलले सिन्डिकेट खडा गरेर मुलुकलाई बर्बाद गर्ने दिन गए जे सहमति र सम्झौता हुन्छ, सडकमा देखापापरेको शक्तिको आधारमा हुनेछ ।'
खुलामञ्चको जनसभाले राप्रपा नेपाललाई नयाँ शक्तिकोरुपमा स्थापित गर्ने संकेत देखिएको भन्दै थापाले संविधानसभा भंग भएपछि प्रमुख चार शक्तिको हैसियत पनि सकिएको बताए । उनले चार शक्तिको निर्णयमा कुनै पनि कदम नचाल्न राष्ट्रपतिलाई सुझाव दिए ।
थापाले संविधानसभा विघटन हुनुमा माओवादी, कांग्रेस, एमाले र मधेसवादी नै जिम्मेवार रहेको बताए । ती चार पक्षको अर्कमण्ययता, फरक नीति र सत्तालिप्साले संविधानसभाले मृत्युवरण गरेको उनले बताए । 'विघटन नेपाली जनतामाथिको अपराध हो,' उनले भने ।
माओवादीको सत्ताकब्जा असफल पार्न भन्दै २७ राजनीतिक दलले संयुक्त आमसभा गरेको भोलिपल्ट शनिबार राप्रपा नेपालले आमसभा गरेको हो । आमसभामा बोल्ने अधिकांश वक्ताले संविधान नलेखिँदा प्रमुख दलहरु असफल भएको भन्दै बैधानिकरुपमा राजसंस्था फर्किएको दाबी गरे ।
आमसभामा कांग्रेस नेता देवेन्द्र नेपाली, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष माधवप्रसाद भट्टराईलगायतले सम्बोधन गरे ।