नेपालगञ्ज, जेठ २७ – मध्यपश्चिमाञ्चल विकास क्षेत्र स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि नेपालगञ्जमा सुरु भएको छ । प्रतियोगितामा बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, रोल्पा, दाङ, दैलेख, सल्यान र कालिकोटका करिब २०० खेलाडी सहभागी छन् ।
मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा भलीवल र एथ्लेटिक्सका विभिन्न विधामा प्रतिष्पर्धा हुनेछ । ३ दिनसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट खेलाडीले राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमूख डेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताको पूनरावेदन अदालत नेपालगन्जका मूख्य न्यायधिश केशवप्रसाद मैनालीले शनिवार उद्घाटन गर्नूभयो । छोटो समयमै प्रतियोगिता गर्नुपरेका कारण खेल सञ्चालनमा अस्तव्यस्तता देखिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कलवहादुर बमले बताउनुभयो ।
करिब ४४ डिग्री सेल्सियस रहेको नेपालगञ्जको तापक्रममा दिउँसोको समयमा प्रतियोगिता सञ्चालन भएको छ ।