जेठ ३० – जापानको राजधानी टोकियो विदेशीहरुका लागि सबैभन्दा महंगो शहर भएको छ । मर्सर नामको कन्सल्टेन्सीले विश्वका दुई सय शहरमा भाउको तुलना सहित गरेको अध्ययनमा जापानको टोकियो विश्वकै महंगो शहरका रुपमा पाइएको हो ।
डलरको तुलनामा येनको भाउ बढेकोले यस्तो भएको बिबिसीले जनाएको छ । यूरोपमा संकटका कारण फ्रान्सको पेरिस, ईटलीको रोम र ग्रीसको एथेन्स शहर केही सस्ता शहरमा परेका छन् ।
एङ्गोलाको लुवान्डा सूचिको दोश्रो नम्बरमा छ । यस्तै जापानकै ओसाका तेश्रो नम्बरमा छ । रुसको मस्को चौँथो, स्वीटजरल्याण्डका जेनेभा र जुरिच क्रमशः पाचौँ र छैठौँ नम्बरमा छन् ।
एसियाका सिङ्गापुर (६), हङकङ (९), जापानका तीन शहरहरु टोकियो (१), ओसाका (३) र नागोया (१०) टप १० महंगा शहरभित्र परेका छन् । यस्तै चिनियाँ शहर साङ्घाई (१६) र बेइजिङ (१७) पनि पूर्ववत महंगा शहरमा परेका छन् । भारतका दिल्ली (११३) र मुम्बई (११४) यसवर्ष महंगा शहरको सूचिबाट धेरै तल ओर्लिएका छन् ।
विश्वका दुई सय १४ शहरमा अध्ययन गरिएको थियो । –एजेन्सीको सहयोगमा