काठमाडौं, जेठ ३२ - शनिवारदेखि काठमाडौंमा शुरु हुने २२ वर्ष मुनिको एएफसी च्याम्पियनसिप फुटवलको समुह डीको छनोट खेलका लागि नेपाली टोलीको नेतृत्व भरत खवासले गर्ने भएका छन् । दशरथ रङशालामा पत्रकार सम्मेलन गरि टिमका मुख्य प्रशिक्षक कृष्ण थापाले भरतको क्षमताका आधारमा उनलाई कप्तानको जिम्मेवारी दिईएको बताउनुभयो ।
सहायक कप्तानको जिम्मा डिफेन्डर विकास सिहं क्षेत्रीलाई दिईएको छ । पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले आफुहरुको लक्ष्य फाईनलमा पुगेर च्याम्पियनसीपको लागि छनोट हुने रहेको बताउनुभयो । प्रतियोगितामा नेपालले पहिलो खेल शनिवार बंगलादेशसंग खेल्ने छ ।
प्रतियोगितामा सहभागि हुने बंगलादेश सहित जोर्डन, यमन र उज्वेगिस्तानको २२ बर्ष मुनिको टोली काठमाडौं आइसकेको छ । त्यस्तै प्रतियोगिताका लागि सबै अफिसियल र म्याच रेफ्रीहरु पनि काठमाडौं आईसकेको र सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यसैबीच एन्फाले प्रतियोगिताको लागि सबै तयारी पुरा भएको जनाएको छ । दशरथ रङ्गशालामा हुने सबै खेलका लागि ७ सय र ३ सयका टिकटको ब्यबस्था गरिएको छ ।