डक्टर र विद्यार्थीद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी
धरान, असार १- एक साताअघि सञ्चालक परिषद(सिनेट) वैठकले मासिक शुल्क अत्यधिक बढाएको विरोधमा आन्दोलित डाक्टर एवम् विद्यार्थीहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक विभाग र परीक्षा शाखामा तालाबन्दी गरेका छन्।
आज साँझसम्म ताला नखुले भोलि शनिबार हुने भनिएको एमडी/एमएस र एमडिएसको प्रवेश परीक्षा पूर्णरुपमा प्रभावित हुनेछ। ताला खुलाउनेबारेमा आन्दोलनरत् डक्टर तथा विद्यार्थी र प्रतिष्ठानका पदाधिकारीबीच वार्ता भइरहेको छ। गत शुक्रबार सम्पन्न सिनेटको ३३ औं बैठकले प्रतिष्ठानका पोष्ट ग्रयाजुएड( एमडि/एमएस र एमडिएस)को मासिक शुल्कमा दुई सय प्रतिशतसम्म वृद्धि गरे पनि जुनियर रेसिडेन्स, हाउस अफिसर र इन्टर्न गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले सिनेटको यो शुल्क वृद्धिको निर्णय तत्काल बदर गर्न माग गरेका छन्।
आन्दोलित डक्टर तथा विद्यार्थीहरु ताला लगाउन जाने क्रममा प्रहरीले अवरोध गरेपछि बिहान करिब दुई घण्टासम्म तनाव उत्पन्न भएको थियो। त्यस क्रममा प्रहरी र डक्टरबीच घम्साघम्सी र दुवैतर्फबाट हातपातसमेत भएको थियो। प्रहरीको अवरोध भए पनि डक्टर र विद्यार्थीहरुको भिडका कारण शैक्षिक विभागको मूल ढोकाको शिशा फुटेको छ। स्थिति नियन्त्रण बाहिर जान खोजेपछि प्रहरीले दुवै स्थानमा ताला लगाउन दिएका थिए।
प्रहरीले मेडिकल कलेजमा हस्तक्षेप गरेको भन्दै डक्टर तथा विद्यार्थीहरुले प्रहरी हस्तक्षेपविरुद्ध र उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध नाराबाजीसमेत गरेका थिए। यसैबीच, उपकुलपति डा. दासले सिनेट बैठकले नै शुल्क वृद्धि गर्ने निर्णय गरेको खुलाउँदै डक्टर तथा विद्यार्थीको मागप्रति आफू सकारात्मक रहेको र आफ्नो विशेष अधिकार प्रयोग गरेर शुल्क वृद्धिको निर्णय कार्यान्वयन नगराउने बताए। हाल दुवै पक्षबीच वार्ता जारी छ।