काठमाडौँ, असार ६ - संविधान सभाको पुनःनिर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगबाट आचार संहिता जारी भइसकेको अवस्थामा प्रहरी अधिकृतको सरुवा गैर कानुनी भएकाले बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
अधिवक्ता कमलप्रसाद इटनीले दायर गरेको रिटमा यही असार ४ गते गरिएको प्रहरी अधिकृतको सरुवासम्बन्धी निर्णयले आगामी मङ्सिर ७ गतेको निर्वाचनलाई प्रत्यक्ष असर पार्ने भएकाले सो निर्णयलाई उत्प्रेषणको आदेशद्वारा वदर गर्न र निर्वाचन सम्पन्न नभएसम्म गत जेठ २४ गते जारी निर्वाचन आचारसंहिता विपरीतका कुनैपनि काम कारबाही नगर्न नगराउनका लागि विपक्षीका नाममा आदेश जारी गर्न माग गरिएको छ।
सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ। रासस