दमक, असार ९- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिबिना राजनीतिक निकास निस्कन नसक्ने बताएका छन्। उनले राजनीतिक निकासका लागि दलहरूबीच विश्वासको वातावरण बनाइनुपर्नेमा जोड दिए।
झापाको दमकमा आज पब्लिक क्याम्पस प्राध्यापक सङ्घको क्षेत्रीय भेलाको उद्घाटन गर्दै नेता नेपालले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने पनि बताए।
शिक्षा क्षेत्र राजनीतिक हस्तक्षेपका कारण धरासायी भएको चर्चा गर्दै उनले प्राविधिक र समयानुकूल शैक्षिक सुधारको आवश्यकता रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान बन्न नसक्नुमा एकीकृत माओवादी जिम्मेवार भएको आरोप लगाउँदै अब सहमतिको लागि चौतर्फी प्रयास गरिनुपर्ने बताए।
उनले पार्टीगत स्वार्थभन्दा पनि राष्ट्रिय स्वार्थ अपरिहार्य भएको स्पष्ट पारे। माओवादीका कोचिला राज्य समितिका इन्चार्ज हरिबोल गजुरेलले शैक्षिक क्षेत्रको विकासमा प्राध्यापकहरूको भूमिका अपरिहार्य भएको चर्चा गरे। रासस