१२ असार, काठमाण्डौ । नयाँ निर्वाचनपछि मात्र आफुले सरकार छाड्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिब्यक्तिप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टी जनाउनुभएको छ ।
उच्च रक्तचापका कारणका अस्वस्थ भएर शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई भेटर र्फकने क्रममा संचारकर्मीसँग प्रचण्डले भने- उहाँले कुन आशयमा त्यसो भन्नुभयो मलाई थाहा भएन, उहाँसँग स्प्रीट(भावना) फरक पर्यो, यस बिषयमा छलफल गर्छु।’
प्रधानमन्त्री भट्टराईले सोमवार व्राजिलबाट र्फकनेक्रममा त्रिभुवन बिमानस्थलमा बोल्दै निर्वाचन भएर अर्को सरकार नआएसम्म आफुले राजीनामा नदिने बताउनुभएको थियो । साथै उहाँले आफ्नो राजीनामा माग्ने बिपक्षीलाई ‘बालहठ’को संज्ञा दिंदै माग्दैमा राजीनामा नपाइने जिकिर गर्नुभएको थियो ।
पछिल्लो समयमा अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री भट्टराईका क्रियाकलापप्रति असन्तुष्ट रहेको र उनलाई पदबाट हटाउन चाहेको चर्चा चलिरहेका बेला प्रचण्डको यो भनाईलाई अर्थपूर्ण मानिएको छ । अध्यक्ष प्रचण्डले दलहरुका बीचमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताउदै छिट्टैे शीर्ष नेताहरुको बैठक बस्ने जानकारी दिनुभयो ।
प्रचण्डले पौडेलको स्वस्थ्य सुधारोन्मुख रहेको जानकारी दिंदै सिघ्र स्वास्थ्यलाभाको कामना गर्नुभयो । पौडेल आइतवारदेखि उच्च रक्तचापका कारण स्वस्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहनुभएको छ ।