काठमाडौ, असार १२ - नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०६८ का लागि वर्षका उत्ककृष्ट खेलाडी पुरुष, महिला, युवा र वर्षको उत्कृष्ट प्रशिक्षक विधामा ५/५ जनाको मनोनयन मंगलबार सार्वजनिक गरेको छ।
मञ्चका सचिव महेश आचार्यको संयोजकत्वमा गठित ८ सदस्यीय छनौट समितिले मंगलबार सार्वजनिक गरेको मनोनयनमा वर्षको उत्कृष्ट खेलाडी पुरुष विधामा क्रिकेटका पारश खड्का, घोडचढीका ध्रुवप्रसाद अर्याल, गल्फका शिवराम श्रेष्ठ, पौडीका शैलेश राणा र एथ्लेटिक्सका तिलकराम थारु मनोनयनमा परेका छन्।
यसैगरी वर्षको उत्कृष्ट खेलाडी (महिला) विधामा भारोत्तोलनकी तारादेवी पुन, एथ्लेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबलटेनिसकी नविता श्रेष्ठ र ब्याडमिन्टनकी नङशलदेवी तामाङ मनोनयनमा परेका छन्।
वर्षको उत्कृष्ट खेलाडी युवा विधामा क्रिकेटका पृथु बाँस्कोटा र रुबिना क्षेत्री, एथ्लेटिक्सका सिद्धान्त अधिकारी र विश्वरुपा बुढा एवं पौडीका शिरीष गुरुङ मनोनयनमा परे।
वर्षको उत्कृष्ट प्रशिक्षकका लागि क्रिकेटका पुबुदु दासानायके, जगत टमटा र नवीन सिंह, जुडोका वीरबहादुर राना र पौडीका ईश्वर कार्की मनोनित भए।
छनौट समितिका संयोजक आचार्यले मञ्चको 'अप्रिसिएटिङ अचिभमेन्टस, अनरिङ हिरोज' नारालाई सार्थक बनाउन खेलाडीहरुको मनोनयन गर्दा वर्षभरिको प्रदर्शन, प्राप्त उपलब्धि र प्रतियोगिताको आकार र प्रकृतिका आधारमा मनोनयन सार्वजनिक गरेको बताए।
मञ्चले दुई साताअघि नै एसएमएस मतदानका आधारमा विजेता छानिने वर्षको लोकप्रिय खेलाडी विधामा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, भलिबलकी रमिला तण्डुकार, एथ्लेटिक्सकी सविता चौधरी र टेनिसकी असलेशा लिसानोभिच मनोनयनमा परेको घोषणा गरिसकेको थियो।
अवार्डको खेलाडी छनौट समितिमा आचार्यका साथै मञ्चका उपाध्यक्ष विनोद पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उज्वल आचार्य, मञ्चका केन्द्रीय सदस्य नवीन खतिवडा, खेलपत्रकारहरु हिमेश बज्राचार्य, प्रजित शाक्य, राजु घिसिङ र सरिता श्रेष्ठ छन्।
मञ्चले आगामी असार २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पल्सर स्पोर्टस अवार्ड २०६८ आयोजना गर्ने घोषणा गरेको छ।
अवार्ड कार्यक्रमलाई हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको अटोमोबाइल ब्रान्ड पल्सरले मुख्य प्रायोजक गरेको छ भने डिस होम, वेस्टर्न युनियन, सूर्य नेपाल, आइएसएमई, टाइमेक्स, सामसुङ्ग, रोयलसिङ्गी होटल, टिएच्टी लाइभ र एभिन्युज टेलिभिजनलगायतका व्यापारिक र व्यवसायिक संघसंस्थाले सहयोग गरेका छन्।
मनोनयमा पर्नेको नामावली यसप्रकार छ।
वर्षको उत्कृष्ट खेलाडी (महिला)
१. प्रमिला रिजाल (एथलेटिक्स)
छैटौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा १००, २००, ४०० र ४ गुणा ४ सय मिटरमा स्वर्ण पदक। ४ गुणा १०० मिटरमा रजत पदक। वन्त स्मृति र खुल्ला राष्ट्रिय प्रतियोगितामा पनि १०० मिटर र ४०० मिटरमा स्वर्ण।
२. श्रेया धिताल (पौडी)
छैठौं राष्ट्रिय खेलकुदमा आठ स्वर्ण र चार रजत। ११औं ग्यालेक्सि कप पौडीमा सात स्वर्ण। १६औं खुला तथा उमेर समूहमा पनि चार स्वर्ण र एक रजत।
३. तारा पुन (भारोत्तोलन)
छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कूल तर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान। छैठौं राष्ट्रिय खेलकुदमा स्ट्रङगेस्ट वुमन घोषित
नेपालगञ्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनशिपमा स्वर्ण। प्रथम खुल्ला भारोत्तोलन ग्राँपिमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण।
४. नविता श्रेष्ठ (टेबलटेनिस)
घरेलु टेबलटेनिसको इतिहासमा नै पहिलो पटक आयोजित सोनाक्षी टेबलटेनिस र्यांकिङ प्रतियोगितामा अपराजित रहदैं च्याम्पियन। छैटौँ राष्ट्रिय खेलकुदमा पनि अपराजीत। आफूले खेलेका चारै इभेन्टमा च्याम्पियन।
५. नङ्शलदेवी तामाङ, ब्याडमिन्टन
छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण पदक। एकसेट पनि नहारेको रेकर्ड। कृष्णमोहन स्मृति ब्याडमिन्टनमा मिक्स डबल्स र लेडिज डबल्समा स्वर्ण। सिंगल्समा रजत।
वर्षको उत्कृष्ट खेलाडी (युवा)
१. सिरिस गुरुङ (पौडी)
छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण, चार रजत र दुई काश्य पदक
भारतको बैंगलुरुमा भएको स्विमलाइफ इन्टरनेशनल स्विम मिटमा पनि ग्रुप-२ अन्तर्गत १३-१४ वर्ष उमेर समूहअन्तर्गत १०० मिटर फ्रिस्टाइल र २०० मिटर ईन्डिभिजुयल मेड्लेमा स्वर्ण पदक। ५० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक।
२. सिद्धान्त अधिकारी (एथलेटिक्स)
छैटौँ राष्ट्रिय खेलकुदमा तीन स्वर्ण, एक रजत र एक काश्य पदक। १५०० मिटर, ८०० मिटर र ४ गुणा ४०० मिटर दौडमा स्वर्ण। ४०० मिटरमा रजत र ४ गुणा १००मिटर रिलेमा काश्य।
३. विश्वरुपा बूढा, एथ्लेटिक्स
छैटौं राष्ट्रिय खेलकुदमा ५००० र १०००० मिटरमा स्वर्ण। टाइमिङ्गमा सुधार
४. पृथु बाँस्कोटा-क्रिकेट
नेपाल एपिएफ क्लब एकदिवसीय राष्ट्रिय र छैटौं राष्ट्रिय खेलकुदमा विजेता बन्दा महत्वपूर्ण खेलाडी। आयरल्यान्डमा नेपाललाई आइसिसी यु-१९ विश्वकप छनोटमा उपविजेता बनाई छैटौं पटक यु-१९ विश्वकपमा छनोट गराउँदा कप्तान। १ सय ५५ रन र ९ विकेटको योगदान। एसिसी ट्वान्टी-२० र विश्व ट्वान्टी-२० छनोटमा नेपाली टोलीमा। एसीसी ट्वान्टी-२० मा कुवेतमाथि १ रनको जीत निकाल्ने अन्तिम ओभरमा ३ विकेट लिन सफल। विश्व ट्वान्टी-२० मा ८३ रन र २ विकेट।
५. रुविना क्षेत्री-क्रिकेट
नेपालले एसिसी यु-१९ महिला च्याम्पियनसिपको उपाधिमा ह्याटि्रक गर्दा कप्तान। फाइनलमा थाइल्यान्डविरुद्ध ३ विकेट र २४ रनको योगदान। प्रतियोगीतामा १३ विकेटका साथै ९६ रनको योगदान गरी प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिन सफल। नेपाल एपिएफ क्लबले छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दा महत्वपूर्ण खेलाडी
वर्षको उत्कृष्ट खेलाडी ‑पुरुष)
१. पारस खड्का (क्रिकेट)
एपिएफ एकदिवसीय राष्ट्रिय र छैटौं राष्ट्रिय खेलकुदमा विजेता हुँदा कप्तान। एकदिवसीयको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध ९५ रन बनाउँदा क्षेत्रिय क्रिकेटको ढाँचाको फाइनलमा उत्कृष्ट व्यक्तिगत स्कोर बनाउन सफल। ट्वान्टी-२० राष्ट्रियमा एपिएफ उपविजेता बन्दा कप्तान। नेपाल पहिलो पटक एसिसी ट्वान्टी-२० को सेमिफाइनलमा पुग्दा कप्तान। युएईमा भएको विश्व ट्वान्टी-२० को छनोट चरणमा कमजोर मानिएको नेपाललाई सातौं स्थानमा उकाल्न सफल कप्तान।
युएईमा नेपालले खेलेका ९ मध्ये ५ खेल जित्दा पारस ३ मा म्यान अफ द म्याच। प्रतियोगीतामा २५४ रन बनाउन र ७ विकेट लिन सफल।
२. शिवराम श्रेष्ठ, गल्फ
२०६८ मा सर्बाधिक धन आर्जन गर्ने नेपाली खेलाडी।
सन् २०११-१२ को सिजन ९ लाख ९ हजार ६ सय रुपैयाँ आर्जन। ११ मध्ये ७ प्रतियोगिताको उपाधि।
नेपालको सर्बाधिक प्रतिष्ठित सूर्य नेपाल मास्टर्स वर्ष २०६८ मा दुइ पटक आयोजना हुँदा दुवै पटक तेश्रो हुन सफल।
प्रोफेसनल गल्फ टुर अफ इन्डियाको सन् २०१२ को छनोटमा बिदेशीतर्फ दोश्रो हुँदै 'फुल कार्ड' लिन सफल।
३. शैलेसशम्सेर राणा, पौडी
छैटौं राष्ट्रिय खेलकुदकै सर्बाधिक सफल खेलाडी। १० स्वर्ण र ४ रजतसहित कुल १४ पदक जित्न सफल।
२०० मिटर इन्डिभिज्युअल मेड्लेमा २ मिनेट ३१.८७ सेकेन्डमा पार गर्दै नयाँ राष्ट्रिय किर्तिमान।
११ औं ग्यालेक्सी कपमा पनि ७ स्वर्ण।
४. तिलकराम थारु, एथ्लेटिक्स
नेसनल ओपन च्याम्पियनसिपमा १ सय र ४ सय मिटरमा स्वर्ण।
वन्त स्पि्रन्टमा पनि १ सय र ४ सय मिटरमा स्वर्ण। उनले ४ सय मिटर ४८ दशमलव ३२ सेकेन्डमा पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान।
छैटौं राष्ट्रिय खेलकुदमा ४ स्वर्ण र १ कास्य पदक
५. ध्रुव प्रसाद अर्याल
श्रीलंकाको हम्बनटोटामा सम्पन्न पहिलो दक्षिण एशियाली बीच खेलकुदमा ब्यक्तिगत तर्फ १ स्वर्ण र १ काश्य जित्न सफल। उनले जितेको स्वर्ण नेपालको एक मात्र स्वर्ण थियो।
टिम स्पर्धामा पनि २ कास्य जित्न सफल।
वर्षको उत्कृष्ट प्रशिक्षक
१. जगत टमाटा (क्रिकेट)
नेपाल आइसिसी यु-१९ विश्वकप छनोटमा उपविजेता हुँदा प्रशिक्षक।
नेपाललाई छैटौं पटक आइसिसी यु-१९ विश्वकपका लागि छनौट गराउन सफल।
सन् २००० देखि २००८ सम्म लगातार चार पटक आइसिसी यु-१९ विश्वकप खेलेको नेपाल २०१० भने छनोट हुन सकेन। टमाटाको प्रशिक्षणमा नेपाल पुन यु-१९ विश्वकपको ट्रयाकमा आउन सफल।
नेपाललाई यु-१९ को विश्वकपमा छनोट गराउने टमाटा केवल दोस्रो घरुल प्रशिक्षक।
२. नवीन सिंह -क्रिकेट
क्षेत्र नम्बर ७ जनकपुरधामले पहिलो पटक आयोजित यु-१९ महिला राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दा प्रशिक्षक।
कुवेतमा एसिसी यु-१९ महिला च्याम्पियनसीप जितेर नेपालले प्रतियोगितामा ह्याटि्रक गर्दा पनि प्रशिक्षक।
३. पुबुदु दासानायाके -क्रिकेट
नेपाल तेस्रो प्रयासमा पहिलो पटक एसिसी ट्वान्टी-२० कपको सेमिफाइनलमा पुग्दा प्रशिक्षक। आइसिसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगीतामा नेपाललाई पुर्याउन सफल।
युएईमा सम्पन्न विश्व ट्वान्टी-२० छनोटमा १६औं बाट सातौं स्थानमा उकाल्न सफल प्रशिक्षक।
४. वीरबहादुर राना , जुडो
नेपालले दक्षिण एशियाली जुडो च्याम्पियनशिपमा २ स्वर्ण, ४ रजत, ४ काश्य जित्दा प्रशिक्षक।
सन् १९९५ मा मद्रासमा सम्पन्न दक्षिण एशियाली खेलकुद पछि नेपाललाई सबैभन्दा ठूलो सफलता दिलाउन सफल प्रशिक्षक।
५. इश्वर कार्की, पौडी
मध्यमाञ्चलले छैटौं राष्ट्रिय खेलकुदमा पौडीमा उपलब्ध सबै २७ स्वर्ण क्लिनस्विप गर्दा प्रशिक्षक।
उनको नेतृत्वमा मध्यमाञ्चलका शैलेश राणाले १० स्वर्ण र श्रेया धितालले ८ स्वर्ण जित्न सफल।